वीरगञ्जमा हैजाको प्रकोप : विद्यालय दुई दिनका लागि बन्द

श्याम खतिवडा

पर्साको वीरगञ्जमा झाडापखालासँगै हैजाको संक्रमण फैलिन थालेपछि स्थिति गम्भीर बनेको छ। नारायणी अस्पतालमा शनिबार गरिएका परीक्षणमा थप पाँच जनामा हैजा पुष्टि भएपछि संक्रमितको संख्या दश पुगेको छ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार शनिबार परीक्षण गरिएका आठमध्ये पाँच जनामा हैजा देखिएको हो। ती सबै संक्रमित वीरगञ्ज महानगरपालिका–१२, मुर्लीका हुन्। यसअघि शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको थियो।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले हालसम्म विभिन्न टोलका दश जनामा भिब्रियो कोलरी जीवाणुबाट हुने हैजा पुष्टि भएको जनाएको छ। सो शाखाका प्रमुख राजु साहका अनुसार शुक्रबारदेखि झाडापखालाका बिरामी बढिरहेका छन्। दुई जनाको मृत्यु समेत हैजाकै कारण भएको हुन सक्ने आशंका गरिएको छ।

उपचाररत बिरामीको अवस्था बुझ्न महानगर प्रमुख राजेशमान सिंह विभिन्न अस्पताल पुगेका छन्। हैजाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महानगरपालिकाले भदौ ८ र ९ गते दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै विद्यार्थी, अभिभावक र सर्वसाधारणलाई उमालेको पानी पिउन, खाना सफा राख्न र आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया