रौतहट । भारतको बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधानसभा निर्वाचनका कारण नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार सूचना जारी गर्दै कात्तिक २२ गते बिहान ६ः०० बजेदेखि २५ गते बिहान ६ः०० बजेसम्म सीमा नाका बन्द रहने जानकारी दिएको छ।
भारतको बिहार राज्य अन्तर्गत सितामढी र पूर्वी चम्पारण जिल्लामा कात्तिक २५ गते विधानसभा निर्वाचन हुने भएकाले शान्ति सुरक्षा व्यवस्थापनलाई मध्यनजर गर्दै सीमा बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।
उनका अनुसार उक्त अवधिमा नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक सम्पूर्ण आवागमन पूर्ण रूपमा रोकिएको हुनेछ।
भुसालका अनुसार, नेपाल–भारत समन्वय बैठकको निर्णयअनुसार सुरक्षालाई प्राथमिकता दिँदै सीमा बन्द गर्न लागिएको हो। निर्वाचन अवधिभर दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथ रहँदै सम्भावित अवाञ्छित गतिविधि रोक्न कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।