सुनसरी–२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

श्याम खतिवडा

सुनसरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । सुनसरी सदरमुकाम इनरुवामा आइतबार आयोजित घोषणा सभामा उनले औपचारिक रूपमा चुनावी मैदानमा उत्रिने घोषणा गर्दै राजनीति गर्ने आफ्नो उद्देश्य र प्रतिबद्धता सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै अहमदले भने, ‘जनभावना अनुसार नेताहरूले काम गरिदिएको भए कलम चलाउने हात राजनीतिमा आउँदैनथ्यो, सुनसरी २ का मतदातालाई विश्वास दिलाउन चाहन्छु, पत्रकार हुँदा पनि सच्चाइको पक्षमा लेखेँ, राजनीतिमा पनि सच्चाइको पक्षमा उभिन्छु ।’ ‘यथास्थितिवादी, पुराना र नयाँको विकल्प : उन्नत, व्यवहारिक लोकतन्त्र मेरो सङ्ककल्प’ भन्ने नारासहित चुनावी प्रतिस्पर्धामा होमिन लागेका उनले जनताका आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । सुनसरी–२ निर्वाचन क्षेत्रमा देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिकाको वडा नम्बर ३, रामधुनी नगरपालिकाका १, २, ३, ५, ८ र ९, इनरुवा नगरपालिकाका १, २, ५, ६, ९ र १० तथा इटहरी उपमहानगरपालिकाका १ देखि ५ र १६ देखि २० नम्बर वडासम्म समेटिएका छन् ।

प्रतिक्रिया