डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज

nepaltext

तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि बिहीबार जहाज अवतरण गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार मौसमका कारण लामो समयदेखि अनियमित रहेको हवाई सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको हो।

नेपाल एयरलाइन्सको १९ सिट क्षमताको जहाजमार्फत बिहीबार काठमाडौंबाट आठ जना र दाङबाट चार जना यात्रुले हवाई सेवा लिएका छन्।

वरिष्ठ अधिकृत भुसालले अब दाङ–काठमाडौं हवाई सेवा नियमित हुने बताए। उनका अनुसार हप्ताको आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी चार दिन उडान सञ्चालन हुनेछ। हाल दाङ–काठमाडौं हवाई भाडा करिब रु १२ हजार रहेको छ।

हवाई सेवा बिहान ९ बजेदेखि ११ बजेको बीचमा उपलब्ध हुने भुसालले जानकारी दिए।

टरिगाउँ विमानस्थलमा हाल ७५० मिटर लामो धावनमार्ग मात्र छ। छोटो धावनमार्गका कारण १९ सिट क्षमताका साना जहाजले मात्र उडान तथा अवतरण गर्न सक्छन्। सानो जहाजको सीमित उडान र सेवा अनियमित हुँदा दाङलगायत आसपासका यात्रु नेपालगन्ज वा भैरहवा पुगेर हवाई सेवा लिन बाध्य छन्।

ठूला जहाज सञ्चालन गर्न मिल्ने गरी विमानस्थलको धावनमार्ग विस्तारको माग लामो समयदेखि उठ्दै आए पनि त्यसले अझै मूर्तरूप लिन सकेको छैन। विसं २०११ मा स्थापना भएको टरिगाउँ विमानस्थल हालसम्म अपेक्षित रूपमा विस्तार हुन सकेको छैन। चालु आर्थिक वर्षमा भने विमानस्थल स्तरोन्नतिका लागि रु २५ करोड बजेट विनियोजन गरिएको छ।

टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

राप्ती । दाङको राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गर्दै टोलमै पुगेर सेवा दिन थालेको छ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले गाउँपालिकाले घर तथा टोलमै पुगेर नवीकरण गर्ने अभियान सञ्चालन गरेको हो।

पालिकाको पञ्जीकरण शाखा प्रमुख नारायणबहादुर राउतका अनुसार सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न थालिएको छ। पालिकाको विकट क्षेत्र मानिएको वडा नं. ९ बाट अभियान सुरु गरिएको र आवश्यकताअनुसार अन्य वडाका गाउँ तथा टोलमा पनि सेवा विस्तार गरिने उनले बताए।

सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा राष्ट्रिय परिचयपत्रसहित लाभग्राही स्वयं उपस्थित हुनुपर्ने लगायतका प्रक्रियाले कतिपय नागरिकलाई समस्या हुने गरेको छ। यही समस्यालाई ध्यानमा राखेर घरदैलोमै पुगेर सेवा दिन थालिएको राउतले बताए।

उनका अनुसार घरमै पुगेर नवीकरण गर्दा लाभग्राहीको अवस्था बुझ्नुका साथै आवश्यक कागजात र प्रक्रियाबारे समेत जानकारी दिने गरिएको छ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि असोज मसान्तसम्म समय तोकिएको छ।

प्रतिक्रिया