काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर आज कुशेऔँशी पर्व मनाउँदैछन्।
हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणबाट पूजा गरी उखेलिएको कुश घरमा राख्ने परम्परा छ। धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा भित्र्याइएको कुशले परिवारमा सुख, शान्ति र कल्याण ल्याउने विश्वास गरिन्छ।
प्रा. डा. देवमणि भट्टराईका अनुसार कुशेऔँशीका दिन उखेलिएको कुश वर्षभर धार्मिक कार्यमा प्रयोग गर्न सकिन्छ। अन्य दिन उखेलिएको कुश भने सोही दिन मात्र प्रयोग गर्न मिल्ने शास्त्रीय मान्यता रहेको छ।
सनातन धर्ममा कुशलाई तुलसी, पीपल र शालिग्रामसँगै भगवान् विष्णुको प्रतीकका रूपमा समेत मानिन्छ। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीको सृष्टिसँगै पवित्र कुशको पनि उत्पत्ति गर्नुभएको हो। आज घरमा राखिएको कुश वर्षभर गरिने विभिन्न देवकार्य र पितृकार्यमा प्रयोग गरिन्छ।
पितृसम्मान गर्ने दिन
कुशेऔँशीलाई पितृसम्मानको विशेष दिनका रूपमा पनि लिइन्छ। यस अवसरमा छोराछोरीले जीवित बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने परम्परा छ।
बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर पितृको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराई आशीर्वाद लिएमा सुख प्राप्त हुने विश्वास छ।
गोकर्णमा विशेष मेला
कुशेऔँशीका अवसरमा काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ। यसै कारण भाद्रकृष्ण औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ।
गोकर्णेश्वरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान र सिदादान गर्ने भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ। मेला व्यवस्थापनका लागि आवश्यक तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष तथा मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले जानकारी दिएका छन्।
त्यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि पितृकार्यका लागि मेला लाग्ने परम्परा छ। तर यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेला सञ्चालन हुने वा नहुने विषयमा अझै निश्चितता छैन।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार बाबु परलोक भइसकेकाहरूले गोकर्ण वा अन्य तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गर्दा पुण्य प्राप्त हुने र कुलको स्थिरता कायम हुने विश्वास गरिन्छ। आजको दिन गरिएको सानो दानले समेत धेरै गुणा पुण्य प्राप्त हुने धार्मिक मान्यताका कारण कुशेऔँशीलाई पुण्य पर्वका रूपमा समेत लिइन्छ।