रास्वपाको समानुपातिक प्राइमरी निर्वाचन सम्पन्न, परिणाम आज साँझ आउने

श्याम खतिवडा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवार छनोटका लागि गरिएको प्राइमरी निर्वाचनको मतदान समय सकिएको छ। सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार आज बिहान मतदान प्रक्रिया सम्पन्न भएको हो। उनले प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत सङ्कलन गर्न करिब पाँच बज्न सक्ने जानकारी दिए। रास्वपाले शनिबार बिहान ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म मतदान समय तोकेको भए पनि मतदाताको चापका कारण सोमबार बिहान १० बजेसम्म समय थप गरिएको थियो। ‘मतदान गर्ने समय सकिएको छ ।

प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत सङ्कलन गर्न करिब ५ बज्छ होला । त्यसपछि निर्वाचन आयोगमा जानेछौँ’, उनले भने। उम्मेदवारका आकाङ्क्षी र निर्वाचन प्रक्रियामा परेको मत सार्वजनिक गर्ने वा नगर्ने विषयमा भने पार्टीले अझै निष्कर्षमा नपुगेको उनले बताए। रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवार छनोटका लागि आह्वान गरेको थियो। पार्टीले ५० प्रतिशत लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशीताको मापन तथा ५० प्रतिशत पार्टी सदस्यको मतका आधारमा प्राइमरी निर्वाचन विधि अपनाएर उम्मेदवार छनोट गरेको जनाएको छ।

प्रतिक्रिया