झापाबाट फर्किएका बालेन भोलि सुदूरपश्चिम जाँदै, निकट उम्मेदवारका क्षेत्रमा चुनावी प्रचार

nepaltext.com

काठमाडौं । झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) भोलि सुदूरपश्चिम प्रदेशतर्फ जाने तयारीमा छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर चुनावी प्रचार–प्रसारमा सक्रिय हुने उनको कार्यतालिका तय भएको छ । प्रतिनिधिसभा निर्वाचनको मनोनयनका लागि केही दिन झापा पुगेका बालेन हिजो मात्रै काठमाडौं फर्किएका थिए र झापाको बसाइपछि उनी उत्साहित देखिएको बताइन्छ । यद्यपि, झापामा रहँदा उनले प्रयोग गरेको महँगो गाडीलाई लिएर विवादसमेत उत्पन्न भएको थियो । एक व्यवसायीले उपलब्ध गराएको उक्त गाडीलाई उनले त्यहीँ छोडेर फर्किएको स्रोतहरूले जनाएका छन् ।

सुदूरपश्चिममा बालेननिकट दुई व्यक्तिहरू चुनावी मैदानमा रहेका कारण उनले त्यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बुझिएको छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् । यी दुई निर्वाचन क्षेत्रमा केन्द्रित भएर बालेन सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्ने र केही दिन त्यहीँ बसेर चुनावी अभियानमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसपछि उनी पुनः काठमाडौं फर्किनेछन् र काठमाडौं तथा ललितपुरका केही निर्वाचन क्षेत्रमा पनि चुनावी गतिविधिमा सक्रिय हुने उनको कार्यतालिका तय भएको बताइएको छ ।

प्रतिक्रिया