सुन प्रतितोला तीन लाख ९ हजार पुग्यो, फेरि बन्यो ऐतिहासिक रेकर्ड

nepaltext.com

काठमाडौंमा सोमबार पनि सुनको मूल्यले इतिहासकै नयाँ उचाइ छोएको छ । लगातार बढ्दो क्रममा रहेको सुन आज एकैदिन ५ हजार २ सय रुपैयाँले महँगिएपछि प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार मात्र तीन लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनले भोलिपल्टै फेरि नयाँ रेकर्ड बनाउँदै सर्वसाधारणदेखि लगानीकर्तासम्म सबैलाई चकित पारेको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको मूल्य, भूराजनीतिक तनाव र लगानीकर्ताको सुरक्षित सम्पत्तितर्फको आकर्षणले सुनको भाउ निरन्तर माथि धकेलिएको देखिन्छ । सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला २७५ रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ, जबकि हिजो मात्र ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो । यसरी हेर्दा, सुनचाँदी दुवै धातुले नेपाली बजारमा एकैसाथ नयाँ रेकर्ड बनाउँदै महँगीको अर्को संकेत दिएको देखिन्छ ।

प्रतिक्रिया