काठमाडौँ । रवि लामिछानेसँग सम्बन्धित अभियोग संशोधन मुद्दामा सर्वोच्च अदालतले सुनुवाइलाई अर्को मितिसम्म स्थगित गरेको छ। लगातार चार दिनसम्म बहस सम्पन्न भएपछि अदालतले आवश्यक कागजात झिकाउन आदेश दिँदै थप सुनुवाइका लागि समय दिएको हो।
न्यायाधीश शारङगा सुवेदी र सुनिल पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताबाट माघ २ गते जारी गरिएको टिप्पणी आदेशको प्रतिलिपि पेश गर्न निर्देशन दिएको छ। उक्त कागजात प्राप्त भएपछि मात्रै मुद्दाको अर्को चरणको सुनुवाइ अघि बढ्ने अदालतले जनाएको छ।
यस प्रकरणमा सबिता भण्डारीले सुरुमा रवि लामिछानेका लागि मात्रै अभियोग संशोधनको स्वीकृति दिएकी थिइन्। पछि भने सो निर्णय संशोधन गर्दै अन्य अभियुक्तहरूका लागि पनि स्वीकृति दिइएको जानकारी सार्वजनिक भएको छ।
अदालतले अब यो मुद्दालाई आगामी चैत ९ गतेका लागि पेशीमा राखेको छ। साथै, सुनुवाइ निष्पक्ष रहोस् भन्ने उद्देश्यले ‘हेर्न नमिल्ने’ न्यायाधीश नरहेको इजलासमा प्रस्तुत गर्न समेत निर्देशन दिएको छ।