भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन

nepaltext

काठमाडौं । भोटेकोशी बाढीबाट सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्ति निर्धारणका आधार तथा सम्बन्धित अन्य विषयमा अध्ययन गर्नेछ। समितिले आवश्यक राय–सुझावसहित १५ दिनभित्र प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्नुपर्नेछ।

समितिका सदस्यमा पूर्वाधार विकास मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सीडीई शंकरसिंह धामी, सल्लाहकार आरपी महतो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ र हरिभक्त श्रेष्ठ तथा यातायात मजदुर संघ–संगठनका तर्फबाट धर्मराज भण्डारी, भीमज्वाला राई र दीपक केसी रहेका छन्।

यसैबीच, यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति पनि गठन गरिएको छ।

भविष्यमा आउन सक्ने सम्भावित समस्या समाधान गर्दै यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो।

समितिका सदस्यमा सीडीई जीवेन्द्र मिश्र, सीडीई मणिराम भुसाल, इन्जिनियर सागर पन्थी, इन्जिनियर अनुकूल निधि, कानुन अधिकृत जानुका सिवाकोटी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट डेकनाथ गौतम, भानुभक्त बराल र पुरुषोत्तम सिम्खडा रहेका छन्।

उक्त समितिले ४५ दिनभित्र आवश्यक अध्ययन गरी राय–सुझावसहित प्रतिवेदन पेस गर्नुपर्नेछ।

मन्त्रालयले दुवै समितिबाट प्राप्त प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापनका साथै आगामी दिनमा यस्ता विपद्बाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरण गर्न आवश्यक नीति तथा कानुनी सुधार अघि बढाउने जनाएको छ।

प्रतिक्रिया