'रगतको थोपा चुहाउन चाहँदैनौँ, भोटबाटै परिवर्तन खोजौँ': रवि लामिछाने

श्याम खतिवडा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको वर्तमान समस्या समाधानका लागि निर्वाचनको विकल्प नभएको दाबी गरेका छन्। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित आमसभालाई सम्बोधन गर्दै लामिछानेले 'चुनावले निकास नदिए केले दिन्छ?' भन्दै प्रश्न गरे। कतिपय ठाउँमा चुनाव सार्नुपर्ने चर्चा चलेको प्रति कटाक्ष गर्दै उनले लोकतन्त्रमा जनताको सबैभन्दा ठूलो तागत नै भोट भएको उल्लेख गरे।

सभापति लामिछानेले परिवर्तनका लागि सडक र आन्दोलनभन्दा मतपेटिका रोज्नुपर्नेमा जोड दिए। उनले भने, 'हामी रगतको एउटा थोपा पनि चुहाउन चाहँदैनौँ, भोटबाटै देश फेर्न चाहन्छौँ। म अफर दिन चाहन्छु– रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्।' अहिले जनता जागरूक भएको बेला चुनाव नै निकासको उत्तम बाटो भएको उनको भनाइ छ।

सम्बोधनका क्रममा लामिछानेले लोकतन्त्रको खतरा टरिसकेको संकेत गर्दै व्यङ्ग्यात्मक टिप्पणी समेत गरे। उनले लोकतन्त्रको खतरा हेलिकप्टर चढेर भागिसकेको र त्यो अब फेरि 'ल्यान्ड' हुन नहुने बताए। 'लोकतन्त्रलाई तब मात्र खतरा हुन्छ, जब त्यो हेलिकप्टर सिंहदरबार वा बालुवाटारमा ओर्लिन्छ,' उनले भने। उनले कुनै पनि बहानामा चुनाव सार्न नहुने र जनमतमार्फत नै देशको भविष्यको फैसला हुनुपर्ने अडान राखे।

प्रतिक्रिया