२० पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेप र त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटनालाई संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लंघन भएको बताएका छन्। संयुक्त राष्ट्रसंघसहित विश्वका अन्तर्राष्ट्रिय संस्थाहरूको औचित्यमाथि नै प्रश्न उठ्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य अन्तर्राष्ट्रिय नियम र कानुनको मर्मविपरीत भएको उनको भनाइ छ। महासचिव पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन ।’ भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रको सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको पोखरेलको टिप्पणी छ। यस प्रकारका घटनाले विश्व राजनीतिमा दीर्घकालीन असर पार्न सक्ने उल्लेख गर्दै उनले यस्ता विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर, जिम्मेवार र खुला बहस आवश्यक देखिएको पनि बताएका छन्।