शान्तिपूर्ण निर्वाचन भयो भने एमाले विजयी हुन्छ: ओली

nepaltext.com

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको उल्लेख गर्दै सन् २०२६ लाई लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बनाउनुपर्ने बताएका छन् । बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल सम्बोधन गर्दै ओलीले नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले शुरू गरिएको भए पनि जनताको सचेतनाका कारण प्रतिगमनकारी शक्तिहरू त्यो प्रयासलाई चाहेको ठाउँसम्म पुर्‍याउन नसकेको दाबी गरे । उनले भने, ‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो’ । अहिले पनि असंवैधानिक गतिविधि भइरहेकामा चिन्ता व्यक्त गर्दै ओलीले थपे, ‘विभिन्न प्रकारका तत्व जम्मा गरेर शक्ति निर्माण गर्न खोजिँदैछ । सर्वोच्चले थुनामा राखेर कारबाही गर्नु भनेका मान्छे जिल्ला र उच्च अदालतबाट छोड्ने काम भएको छ, छोड्नेबित्तिकै तमासा देखिँदै छ ।’

अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले त्यसतर्फ गम्भीर रूपमा काम नगरेको भन्दै ओलीले निर्वाचनकै नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र कमजोर पार्ने प्रयास हुन सक्ने खतरा औँल्याए । उनका अनुसार नेताहरूविरुद्ध झूठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने अवस्था रहनु, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अघि बढ्न खोज्नु, निर्वाचनमा बुथ कब्जाको प्रयास हुनु र निर्भयपूर्वक मतदान हुन नदिनुजस्ता गतिविधि भएमा निर्वाचन लोकतन्त्र बलियो बनाउने प्रक्रिया होइन, केवल ‘ड्रामा’ मात्र बन्नेछ ।

ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन भए एमाले सहभागी हुने र विजय हासिल गर्ने दाबी गर्दै देशलाई निकास दिने सबैभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना’ रहेको बताए । विगतमा संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुई महिनाभित्र फैसला दिएको स्मरण गराउँदै उनले वर्तमान अवस्थालाई पनि त्यही मापदण्डमा हेरिनुपर्ने संकेत गरे । साथै, ११औँ महाधिवेशन असाधारण जनपरिचालनका साथ सम्पन्न भएको उल्लेख गर्दै ओलीले पार्टी कुनै गुटगत भावनामा होइन, पार्टी भावना, एकताको भावना र राष्ट्रप्रति समर्पित भावनाका साथ एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया