काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथमाथि अस्तित्वमै नभएको तीनतले पक्की घरको नक्सा बनाएर बैंकबाट ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उपाध्यक्ष नाथसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार नाथले आफ्नो नाममा दर्ता कञ्चनपुर, साविक बेलडाँडी–८, कित्ता नं ३५७ (४०० वर्गमिटर) को जग्गामा कुनै भवन नरहे पनि सेती कन्सल्टेन्सीमार्फत नक्कली नक्सा तयार गराइ लक्ष्मी सनराइज बैंक कञ्चनपुर शाखाबाट २०७८ चैत १० गते २३ लाख ७५ हजार र २०७९ असोज १३ गते १० लाख गरी कुल ३३ लाख ७५ हजार ऋण लिएको पुष्टि भएको छ।
नक्सा पास गर्ने क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनारले मिलोमतो गरी झूट्टा अभिलेखीकरण गरेको आयोगले जनाएको छ। नक्सामा ग्राउण्ड फ्लोरदेखि दोस्रो तलासम्म सटर, कोठा, ग्यालरी, सिढी र किचनसहितको तीनतले भवन भएको उल्लेख थियो।
तर आयोगको अनुगमनमा त्यहाँ कुनै भवन नभएको पुष्टि भएको छ। नापी कार्यालय बेलौरीको प्रतिवेदनले पनि उक्त जग्गामा कुनै संरचना नरहेको प्रमाणित गरेको थियो। अख्तियारले जनाएको छ, शान्ति नाथले ‘जेठाले खाम्नेभन्दा धेरै ऋण काढ्ने’ गलत नियतले नक्कली नक्सा तयार गराएको र गाउँपालिकाका अधिकारी तथा प्राविधिकले मिलोमतो गरी झुट्टा कागजात प्रमाणित गरिदिएको पूर्णरूपमा स्थापित भएको छ।
यसै आधारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशी, सव–इन्जिनियर कुँवर र असिस्टेन्ट सव–इन्जिनियर सुनार विरुद्ध भ्रष्टाचार निवारण ऐन दफा ९ अनुसार सजाय मागदाबी गरिएको छ। उपाध्यक्ष तथा जग्गाधनी शान्ति नाथ विरुद्ध मुख्य कसूरदार बराबर, सोही ऐनको दफा २२ अनुसार सजाय मागदाबी गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।