निर्वाचनको माहोलसँगै सेयर बजारमा उत्साह, ६ अर्ब ४७ करोडको कारोबार

श्याम खतिवडा

आज सेयर बजारमा उत्साहजनक कारोबार देखिएको छ। कुल ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा प्रतिनिधिसभा निर्वाचनको वातावरण बन्दै गएसँगै लगानीकर्ताको मनोबल सकारात्मक देखिएको हो।

यही सकारात्मक माहोलका कारण आज अधिकांश समूहमा हरियाली छायो, विशेषगरी उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण बढ्दै यो समूह ३.०५ प्रतिशतले सबैभन्दा धेरै बढ्यो। बजारका सबै समूहका सूचक उकालो लाग्दा बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार समूह ०.२२ प्रतिशतले बढेका छन्।

आजको कारोबारमा ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। १० प्रतिशत बढ्ने कम्पनीमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर परेका छन्। त्यसैगरी दरामखोला हाइड्रोपावरको ९.५४ प्रतिशत, हिमस्टार ऊर्जाको ८.५४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ प्रतिशत र ट्रेड टावरको ८.४८ प्रतिशतले सेयर मूल्य बढेको छ।

यद्यपि, बजार समग्रमा बढेको भए पनि सप्तकोशी विकास बैंकको २.४९ प्रतिशत र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २.२३ प्रतिशतले सेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र सागर डिस्टिलरी रहेका छन्।

प्रतिक्रिया