‘साहस र इमान पार्टीले गुमायो’ भन्दै माओवादीबाट अलगिए रहबर अन्सारी

nepaltext.com

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्य निर्वाचित रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा अन्सारीले माओवादी केन्द्रले आफ्नो मूल चरित्र गुमाउँदै गएको गम्भीर आरोप लगाएका छन्। ‘साहस, इमान र जोखिम—यी तीनै कुरा पार्टीले त्यागिसकेको छ। यस्तो विरोधाभासपूर्ण यात्राको हिस्सा म बन्न सक्दिनँ,’ भन्दै उनले पार्टी सदस्यताबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन्। समाजवादी क्रान्तिप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै उनले ‘समाजवादी क्रान्ति जिन्दावाद’ भन्ने शब्दसहित पार्टीसँग विदा लिएको बताएका छन्। अन्सारीले केही दिनअघि प्रचण्डले नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफहरू स्मरण गराउँदै त्यही भावनात्मक सन्देशलाई आधार बनाएर आफ्नो असहमति र राजीनामा सार्वजनिक गरेका हुन्, जसले माओवादी केन्द्रभित्रको वैचारिक र राजनीतिक असन्तुष्टि फेरि सतहमा ल्याएको छ।

प्रतिक्रिया