काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाउँदै सोमबार इतिहासकै उच्च विन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ भने १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ कायम गरिएको छ। यसअघि आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार एकै दिनमा सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको हो। यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँ तोकिएको छ, जुन आइतबारको तोलामा ५ हजार ६२५ रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहनु, अमेरिकी डलरको उतारचढाव र लगानीकर्ताहरूको सुरक्षित लगानीतर्फ आकर्षण बढ्नुका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको महासंघले जनाएको छ।