काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको देब्रे खुट्टामा लागेको चोट गम्भीर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । केही दिनअघि जनकपुरमा आयोजित आमसभामा सहभागी हुन जाने क्रममा ठूलो भिडले धकेल्दा अगाडि रहेको इँट्टाको होचो पर्खाल देख्न नसकेर उनको घुँडाभन्दा मुनिको भाग कुनै धारिलो भागमा ठोक्किएको थियो । तत्काल रगत नबगे पनि खुट्टा निलो हुँदै दुखाइ बढ्दै गएको र त्यस अवस्थामै रवि मञ्चमा उक्लेर भाषण गरेको उनका प्रमुख स्वकीय सचिव अविनाश आचार्यले बताएका छन् । त्यसपछि अदालतको पेसी, धरौटी बुझाउने प्रक्रिया र चुनावी मनोनयनको व्यस्तताबीच प्रारम्भिक जाँच गर्दा ठूलो फ्र्याक्चर नदेखिए पनि चोटको संक्रमण क्रमशः बढ्दै गयो । काठमाडौं फर्किएपछि पनि दुखाइले सताएपछि उनी हिजो टिचिङ अस्पताल पुगेका थिए, जहाँ परीक्षणका क्रममा खुट्टामा ‘सेलुलाइटिस’ अर्थात् छालाको गहिरो तहमा हुने ब्याक्टेरियल संक्रमण भएको पुष्टि भयो । चिकित्सकहरूका अनुसार यस्तो संक्रमण समयमै नियन्त्रण नगरेमा रगतमा फैलिन सक्ने भएकाले उनलाई हाडजोर्नी विभागमा भर्ना गरी नशाबाट एन्टिबायोटिक दिएर उपचार सुरु गरिएको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईका अनुसार रविको खुट्टामा ब्यान्डेज गरिएको छ र अवस्था निगरानीमा राखिएको छ, यद्यपि सामाजिक सञ्जालमा भाइरल भएका पूरै खुट्टा प्लास्टर गरिएको तस्बिरहरू भने एआईद्वारा बनाइएका भ्रामक तस्वीर मात्र भएको अस्पतालले स्पष्ट पारेको छ ।