काठमाडौंमा आज सुनको मूल्यले फेरि नयाँ इतिहास बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेर तीन लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । हिजो मात्रै सुन प्रतितोला तीन लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो र त्यही मूल्यलाई नयाँ रेकर्ड मानिएको थियो, तर आजको वृद्धिसँगै त्यो रेकर्ड पनि तोडिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, लगानीकर्ताको आकर्षण बढ्नु र बजारमा अस्थिरताको प्रभाव पर्नुका कारण नेपाली बजारमा समेत सुन लगातार महँगिँदै गएको विश्लेषण गरिएको छ । उता चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार ४८० रुपैयाँ पुगेको महासंघले जनाएको छ, जसले सुनसँगै चाँदी पनि नयाँ उचाइतर्फ उक्लिरहेको संकेत गर्छ ।