काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई पदबाट हटाएको छ। आज बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः माउ कम्पनी नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो।
पन्दाकको यो नियुक्ति सुरुदेखि नै विवादित र संस्थागत सुशासनको सिद्धान्त विपरीत रहेको भन्दै आलोचना हुँदै आएको थियो। तत्कालीन नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीले आफ्नो कार्यकाल सकिनै लाग्दा पन्दाकलाई सीडीएससीको प्रमुखको जिम्मेवारी सुम्पेका थिए।
गत भदौ ७ गते तत्कालीन सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि सीडीएससीमा नेतृत्व खाली भएको थियो। उक्त समयमा नियमानुसार अस्थायी वा निमित्त जिम्मेवारी दिनुपर्नेमा, सिधै चार वर्षको कार्यकाल तोकेर पन्दाकलाई नियुक्त गरिएको थियो।
सो नियुक्ति नियमसम्मत नदेखिएको निष्कर्ष निकाल्दै नेप्सेको वर्तमान नेतृत्वले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। पन्दाकलाई नेप्सेमा फिर्ता बोलाइएपछि अब सीडीएससीको प्रमुख कार्यकारी पद पुनः रिक्त भएको छ।