हेटौंडामा ३४ लाखको अवैध कपडा र प्रतिबन्धित पटका सहित दुई पक्राउ

nepaltext.com

हेटौंडा, मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट करिब ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित झिरझिरे पटका बरामद गरेको छ।

शुक्रबार बिहान करिब ४ः१० बजे वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडी चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ।

गाडीको पछाडिको ढालाभित्र १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स र १ हजार १ थान कपडाका रोल (थान) लुकाइएका थिए, जसको अनुमानित मूल्य करिब १४ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। साथै, झण्डै २० लाख रुपैयाँ बराबरका प्रतिबन्धित झिरझिरे पटका समेत बरामद भएका छन्।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया