गोरखा–२ मा बाबुराम भट्टराईलाई रास्वपाको समर्थनको विश्वास

श्याम खतिवडा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ मा आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउने विश्वास व्यक्त गरेका छन् । गोरखामा पत्रकारहरूसँग कुरा गर्दै उनले रास्वपाका नेताहरूले आफूलाई ‘अभिभावक’को रूपमा हेर्ने गरेको र विचारका साथै राजनीतिक परिपक्वताका हिसाबले पनि संसद्मा आफ्नो उपस्थिति आवश्यक ठान्ने बुझाइ उनीहरूको रहेको बताए । उनले २०६४ सालदेखि कहिले उठ भनियो भने उठ्ने र नउठ भनियो भने नउठ्ने गरेको स्मरण गर्दै यसपटक पनि व्यक्तिगत चाहनाभन्दा आवश्यकताका कारण चुनाव लड्ने निर्णय गरेको स्पष्ट पारे । मतदाताले अन्ततः निर्णय गर्ने भएकाले अहिले नै परिणामको आँकलन नगरेको र औपचारिक रूपमा सहयोगबारे कुनै दलसँग छलफल नगरेको पनि उनले बताए । रास्वपाका सभापति रवि लामिछानेलगायत नेताहरूले अघिदेखि नै आफूलाई मार्गदर्शक र अभिभावकको रूपमा सम्मान गर्दै आएको, नयाँ दलका अन्य नेताहरूले पनि त्यस्तै भावना व्यक्त गर्ने गरेको उनको भनाइ थियो । नयाँ शक्ति लगायतका दलहरू एक भएर प्रलोपा बने पनि हाल आफू पार्टीको कार्यकारी भूमिकामा नरहेको उल्लेख गर्दै, उम्मेदवारी घोषणापछि गाउँघरबाट ‘अब तपाईँ उठ्नुभयो, हामी सुरक्षित छौँ’ भन्ने खालका प्रतिक्रिया आउन थालेको पनि उनले सुनाए । गोरखा–२ रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको क्षेत्र हो भने यहाँ नेकपा एमालेले चक्रे मिलनलाई र नेकपाले लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाइसकेको छ, जसले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई अझ चासोपूर्ण बनाएको छ ।

प्रतिक्रिया