एमालेभित्रको प्रतिस्पर्धालाई नकारात्मक रूपमा लिनु हुँदैन: ईश्वर पोखरेल

nepaltext.com

काठमाडौँ । नेकपा एमालेका अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई नकारात्मक रूपमा लिन नहुने बताएका छन्। महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै व्यस्त रहेका पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा उनी स्वयं सहभागी भएको जानकारी दिए।

पोखरेलले भने, “यो महाधिवेशनमा लोकतान्त्रिक विधिद्वारा नेतृत्व चयन गर्ने जुन कुरा छ, साथीहरूले खुलाखुल्लस्त ढङ्गले त्यसलाई अपनाउनुभएको छ। यो चिज एकदम राम्रो छ।” उनले आन्तरिक प्रतिस्पर्धालाई तिक्तताको रूपमा नलिनुपर्ने र त्यसलाई परिस्थिति जन्य मुद्दा भनेर हेर्नुपर्ने बताएका छन्।

उनले थपे, “तिक्ततापूर्ण भन्दा पनि एउटा परिस्थिति जन्य कतिपय कुराहरू हुन्छन्। त्यो परिस्थिति जन्य त्यसबेला हाम्रो पार्टीलाई गम्भीर विभाजनको सङ्कटबाट बचाउनुपर्ने आवश्यकता थियो। अहिले हामी त्यो अवस्थामा छैनौँ।”

पोखरेलले नेकपा एमालेभित्र विचार र सङ्गठन दुवै पक्षमा सबै एक रहेको उल्लेख गर्दै, “कार्यसम्पादन गर्ने शैलीलाई थप व्यवस्थित गर्नुपर्छ, विचारलाई पनि व्यवस्थित गर्नुपर्छ, सङ्गठनलाई थप व्यवस्थित गर्नुपर्छ भन्ने मान्यताको आधारमा हाम्रा साथीहरू उभिनुभएको छ। यसलाई अन्यथा लिनु हुँदैन।”

प्रतिक्रिया