मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा सञ्चालनमा

nepaltext.com

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–४, धुम्बाराहीस्थित चिलिमे टावरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बिहीबार एक विशेष समारोहबीच उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन्।

यसअघि जमलमा रहेको शाखालाई स्थानान्तरण गर्दै बैंकले नयाँ स्थानबाट आधुनिक सुविधा र उत्कृष्ट ग्राहक सेवासहित वित्तीय कारोबार सुरु गरेको हो।

उद्घाटन समारोहमा बोल्दै कार्यकारी निर्देशक पौडेलले बैंकको कृषि क्षेत्रमा गरिएको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए। साथै, नयाँ शाखाबाट गुणस्तरीय सेवा प्रवाह होस् भन्ने शुभकामना पनि व्यक्त गरे।  कार्यक्रममा सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी प्रस्तुत गरे।

त्यस्तै, निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले मुलुकको अर्थतन्त्र सबलीकरणमा बैंक र नियामक निकायबीचको सहकार्य महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे। समारोहको सभापतित्व बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए। धन्यवाद ज्ञापन गर्दै उनले सेवाको गुणस्तरमा निरन्तर सुधार गर्ने प्रतिवद्धता दोहोर्याए।  नयाँ र आधुनिक भवनमा रहेको शाखा कार्यालय रिङ्गरोडसँगै जोडिएको छ र पर्याप्त पार्किङ सुविधा पनि रहेकोले ग्राहकलाई सहज हुने बैंकले जनाएको छ।

प्रतिक्रिया