दैलेख । अविरल वर्षापछि दैलेखको नारायण नगरपालिका–१ स्थित नमूना बस्ती पहिरोको उच्च जोखिममा परेको छ। आइतबार परेको भारी वर्षाका कारण रातिदेखि बस्तीमा पहिरो जान थालेपछि आठ घरपरिवारका ३७ जना विस्थापित भएका छन्।
पहिरोको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको नेतृत्वमा टोली परिचालन गरी स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा प्रभावितको उद्धार गरिएको हो। विस्थापित ३७ जनालाई सोही वडामा रहेको तरकारी सङ्कलन केन्द्रको भवनमा राखिएको छ।
भिरालो क्षेत्रमा रहेको ६५ घरधुरीको बादी बस्तीमा एउटा घर पहिरोले पुरिए सिङ्गो बस्ती नै जोखिममा पर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। यसअघि पनि पहिरोमा परी रूपा बादी, उनकी छोरी सपना र छोरा विष्णुको मृत्यु भइसकेकाले स्थानीयमा त्रास बढेको छ।
विस्थापित कमला बाढीले पटक–पटक कारागार, भेटेरिनरी कार्यालय र तरकारी सङ्कलन केन्द्रमा आश्रय लिनुपर्ने अवस्था रहेको बताउँदै स्थायी स्थानान्तरण नभएसम्म पुरानो बस्तीमा नफर्किने बताउनुभयो।
नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देश श्रेष्ठले बस्तीको स्थलगत अनुगमन गरी प्रभावित र बस्तीका अगुवासँग छलफल गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्कालको वर्षाको अवस्थालाई ध्यानमा राख्दै दीर्घकालीन समाधानका लागि बादी समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा छलफल भएको छ।
बादी समुदायका नाममा भूमि आयोगबाट निस्सा जारी भइसकेकाले त्यसलाई छिट्टै प्रक्रियामा लगेर स्थायी व्यवस्थापन गरिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द शारुले स्थानीय तहले छिटो प्रक्रिया अघि बढाए प्रशासनले जग्गा खोजी गरी बादी समुदायको स्थायी व्यवस्थापनमा सहजीकरण गर्ने बताउनुभयो।
“सुकुमवासी हुन् भने नगरपालिकाले छिटो काम अगाडि बढाउनुपर्छ, हामी जग्गा खोज्छौँ,” प्रजिअ शारुले भन्नुभयो, “बादी समुदायले पनि आफूले रोजेको ठाउँमै जग्गा चाहिन्छ भन्नु राज्यको नीतिसँग मिल्दैन।”
उहाँले जिल्लाका विभिन्न स्थानको अनुगमन गरिसकेको उल्लेख गर्दै स्थानीय तहबाट हुनुपर्ने काममा ढिलाइ भएको बताउनुभयो। लालपुर्जा वितरणका लागि स्थानीय तहले जग्गा व्यवस्थापनको पहल भूमि आयोगसँग गर्नुपर्ने उहाँको भनाइ छ।