झापाबाट २२ हात्ती भारत तर्फ

nepaltext

झापा - विगत एक महिनादेखि झापाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेको २२ वटा हात्तीको समूह सोमबार बिहान भारततर्फ फर्किएको छ। बच्चासहितको हात्तीको ठूलो हुल भारत फर्किएपछि उत्तरी–पूर्वी झापाका स्थानीय बासिन्दाले केही राहत महसुस गरेका छन्।

बाहुनडाँगी, शान्तिनगरलगायत क्षेत्रमा हात्तीको हुलले घर भत्काउने, खेतमा लगाइएको धान नष्ट गर्ने तथा सुपारीका बोट भाँच्ने गरेपछि स्थानीयवासी लामो समयदेखि त्रासमा थिए।

स्थानीय नीलकण्ठ तिवारीका अनुसार नेपाल–भारत सीमामा जडान गरिएको सोलार फेन्सिङ जीर्ण भएकाले भारतको आसाम र पश्चिम बंगालका जंगलबाट मेची नदी पार गर्दै हात्तीहरू सहजै नेपाल प्रवेश गर्ने गरेका छन्।

ठूलो हुल भारत फर्किए पनि सोमबार बिहान बिर्तामोड–७ मा एउटा एक्लो हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीयवासीमा पुनः त्रास फैलिएको थियो। करिब चार घण्टा बस्तीमा घुमेको उक्त हात्ती पछि बुटाबारीस्थित चियाबगानतर्फ लागेको जनाइएको छ।

झापामा हरेक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षतिका साथै घर, संरचना तथा अन्नबालीमा ठूलो नोक्सानी हुँदै आएको छ।

प्रतिक्रिया