दोलखामा मोटरसाइकल दुर्घटना : स्ववियु सभापतिसहित दुईको मृत्यु

nepaltext.com

 दोलखाको भीमेश्वर नगरपालिका–६ रमिते डाँडामा शनिबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा भीमेश्वर–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर–३ चिलाउने खर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन्। बस्नेत गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन् भने दाहाल चरिकोटस्थित होटलमा सवारी चालकको काम गर्दै आएका थिए।

राति करिब ९ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि च्छोरोल्पा अस्पताल चरिकोट लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दाहाल बा ५३ प ८८९९ नम्बरको मोटरसाइकलमा दुध डेरीतर्फ जाँदै थिए भने बस्नेत र बैतेश्वर–५ का २५ वर्षीय निर्मल खड्का बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलमा चरिकोट फर्किँदै थिए। दुर्घटनामा बस्नेत र दाहालको मृत्यु भएको हो भने खड्का घाइते छन् र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया