निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना

nepaltext

काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को क्रममा बालअधिकारसम्बन्धी आचारसंहिताको ३५० वटा उल्लंघनका घटना दर्ता भएको देखाएको छ।

प्रतिवेदनअनुसार निर्वाचनअघि २८६ र निर्वाचनपछि १९ घटना भएका छन्। यो तथ्याङ्क सदस्य संस्थाहरूको स्थलगत अनुगमन, प्रादेशिक सञ्जालबाट प्राप्त विवरण, सञ्चारमाध्यमको निगरानी तथा डिजिटल प्लेटफर्मको अध्ययनका आधारमा संकलन गरिएको हो।

निर्वाचन प्रचारका क्रममा विभिन्न दुःखद घटनाहरू पनि भएका छन्। रौतहटको ईशनाथ नगरपालिका–४ मा सवारी दुर्घटनामा एक चार वर्षीया बालिकाको ज्यान गएको थियो। धनुषाको मिथिला नगरपालिका–९ मा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका थिए। साथै पाँचथरको फिदिम र कास्कीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयमा सुरक्षा निकाय हतियारसहित प्रवेश गरेका घटनासमेत दर्ता भएका छन्।

अध्ययनले राजनीतिक दलहरूले प्रचारप्रसारका क्रममा बालबालिकालाई झण्डा बोक्ने, जुलुस र आमसभामा सहभागी गराउने, नाराबाजी गराउने, प्रचार सामग्री वितरण गराउने तथा गीत–नृत्य कार्यक्रममा प्रयोग गर्ने जस्ता गतिविधि व्यापक रूपमा भएको उल्लेख गरेको छ। कतिपय अवस्थामा बालबालिकामार्फत भिडियो तथा सामाजिक सञ्जाल सामग्री तयार गरी मत माग्ने वा दल विशेषको समर्थन गराउने काम पनि गरिएको पाइएको छ।

विद्यालयलाई समेत चुनावी गतिविधिमा प्रयोग गरिएको अध्ययनले देखाएको छ। विद्यालय पोशाकमै विद्यार्थीलाई जुलुसमा सहभागी गराउने, नेताहरूको विद्यालय भ्रमण, विद्यालय नजिकै चुनावी कार्यक्रम सञ्चालन गर्ने तथा सवारी साधन प्रयोग गर्ने कार्यले विद्यालयको तटस्थता र बालमैत्री वातावरणमा असर पारेको उल्लेख छ।

अभियानका अध्यक्ष तिलोत्तम पौडेलले यस्ता गतिविधि निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लंघन भएको बताए। प्रतिवेदनले अभिभावक, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा प्रभावशाली व्यक्तिहरूद्वारा बालबालिकालाई राजनीतिक सामग्रीमा प्रयोग गर्ने प्रवृत्तिले उनीहरूलाई जोखिममा पारिरहेको पनि औँल्याएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसेले सरोकारवाला निकायबीचको सहकार्यका कारण बालबालिकाको दुरुपयोग केही हदसम्म कम गर्न सकिएको बताए। त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम संयोजक श्रीराम अधिकारीले यस्ता गतिविधि रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे।

राष्ट्रिय मानव अधिकार आयोगका खिमानन्द बस्यालले अघिल्ला निर्वाचनको तुलनामा बालबालिकाको दुरुपयोग केही घटे पनि अझ सुधार गर्नुपर्ने धेरै पक्ष बाँकी रहेको बताए।

निर्वाचन आयोगले केही उल्लंघनका घटनामा कारबाहीसमेत गरेको छ। श्रम संस्कृति पार्टी र जाजरकोट क्षेत्र नं. १ का उम्मेदवार शक्तिबहादुर बस्नेतलाई आचारसंहिता उल्लंघन गरेकोमा जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको आयोगले जनाएको छ।

प्रतिवेदनले बालअधिकार संरक्षणका लागि राजनीतिक दल, राज्य निकाय, समुदाय र परिवार सबैको जिम्मेवार भूमिका आवश्यक रहेको औँल्याएको छ। साथै चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्न, विद्यालय र बालमैत्री क्षेत्रलाई राजनीतिक गतिविधिबाट टाढा राख्न र डिजिटल माध्यममा हुने दुरुपयोग रोक्न स्पष्ट नीति तथा अनुगमन प्रणाली सुदृढ गर्न सुझाव दिएको छ।

प्रतिक्रिया