काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २० गते पुनः २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न लागेको छ। यसअघि पनि केन्द्रीय बैंकले पुस १४ र १६ गते समान २५–२५ अर्ब रुपैयाँका ऋणपत्र जारी गरिसकेको थियो। आज जारी हुन लागेको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ मा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार यस ऋणपत्रको बोलकबोल आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत हुनेछ र सोही बोलकबोल प्रक्रियाबाटै यसको ब्याजदर निर्धारण गरिनेछ।
एकवर्षे अवधिको यो ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २० गते गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था छ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। साथै, यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ, जसले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।