क्तपुरमा प्रहरीमाथि चक्कु प्रहार, चार जना पक्राउ

nepaltext.com

भक्तपुरमा प्रहरीमाथि चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई हाल भक्तपुर दुवाकोट बस्दै आएका २६ वर्षीय सागर शंकर सेती, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ घर भई हाल भक्तपुर ताथली बस्ने २५ वर्षीय सन्तोष दुलाल, सिराहा सिक्कीपुर नगरपालिका–८ घर भई हाल भक्तपुर ताथली बस्ने २० वर्षीय वीरेन्द्र मलिक तथा काठमाडौं महानगरपालिका–२७ का २७ वर्षीय अभय तुलाधर रहेका छन्।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका तथा मोटरसाइकल चोरीमा संलग्न प्रतिवादीहरूलाई नियन्त्रणमा लिने क्रममा बुधबार अपराह्न करिब ४ बजे भक्तपुर सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिकै रहेको एक रेष्टुरेन्टभित्र घटना भएको प्रहरीले जनाएको छ। अपराध महाशाखाबाट जिल्ला प्रहरी परिसर भक्तपुरमा खटिएको प्रहरी निरीक्षक हेम थपलियाको कमाण्डमा परिचालित पाँच सदस्यीय टोलीले अभियुक्तहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी नायब निरीक्षक सञ्जिब केसीमाथि चक्कु प्रहार गरिएको थियो। चक्कु प्रहारबाट केसीको दाहिने ढाडतर्फ गहिरो चोट लागेको र छातीमा समेत चोट पुगेको बताइएको छ।

घाइते प्रहरी नायब निरीक्षक केसीलाई तत्काल प्रारम्भिक उपचारका लागि ख्वपा अस्पताल, च्यामासिंह लगिएको थियो। घटनापछि प्रहरीले अभियुक्तहरूले प्रयोग गरेको मोटरसाइकल र एक थान चक्कु समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारै जनालाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखी घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया