बैतडी बस दुर्घटना: मृतकका परिवारलाई जनही एक लाख राहत, उपचार खर्च प्रदेशले व्यहोर्ने

nepaltext.com

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको भीषण बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त दुर्घटनामा ज्यान गुमाएका १३ जना मृतकका परिवारलाई राहतस्वरूप रकम प्रदान गर्ने निर्णय गरेको हो। साथै, दुर्घटनामा घाइते भएकाहरू सरकारी अस्पतालमा भर्ना भई उपचार गराइरहेका अवधिभर लाग्ने औषधि तथा सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने निर्णय पनि गरिएको छ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सु.प्र.०२–००१ ख १११९ नम्बरको बस बिहीबार साँझ करिब साढे ७ बजे बडगाउँमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परेर १३ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन्। घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पतालमा र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रदेश सरकारले आवश्यक परेमा थप उपचारका लागि घाइतेलाई काठमाडौँसम्म लैजान हेलिकप्टर व्यवस्थापनसमेत तयारी अवस्थामा राखिएको जानकारी दिएको छ। दुर्घटनापछि राहत, उपचार र उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकार सक्रिय रूपमा जुटिरहेको जनाएको छ।

प्रतिक्रिया