बेपत्ताको खोजी तथा उद्धार नरोकिने गरी काम गर्न राष्ट्रपतिको आग्रह

nepaltext

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गरे । उनले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राष्ट्रपति पौडेलले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य पनि यथाशीघ्र सफल हुने विश्वास व्यक्त गरे । कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा जोखिमपूर्ण परिस्थितिलाई उद्धार अभियान रोक्ने कारण बनाउन नहुने उनको भनाइ थियो ।

उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको योगदानको उनले प्रशंसा गरे ।

विपत्तिमा परी ज्यान गुमाएका विदेशी नागरिकप्रति समेत दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग आवश्यक समन्वय र सहकार्य गरिने बताए ।

उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार तथा मनोसामाजिक सेवाको सुनिश्चितता गर्न उनले सरकारको ध्यानाकर्षण गराए । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकलाई विशेष संरक्षण दिनुपर्ने उनले बताए ।

त्यस्तै, मृतकको पहिचान प्रक्रिया संवेदनशील र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य अभिलेख सुरक्षित राखेर पहिचानलाई विश्वसनीय र व्यवस्थित बनाउन आग्रह गरे ।

घरबारविहीन, विस्थापित तथा आफन्त गुमाएका नागरिकलाई राज्यको साथ र भरोसा आवश्यक रहेको उल्लेख गर्दै उनले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समस्या समाधानका लागि महत्वपूर्ण सुझावका रूपमा लिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे ।

राष्ट्रपति पौडेलले पछिल्लो विपत्तिले हिमाली पर्यावरणको संवेदनशीलता र बढ्दो विश्वव्यापी तापक्रमका कारण सिर्जित जोखिमलाई पुनः उजागर गरेको बताए । नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले ठोस कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

विपद्का बेला राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै राष्ट्रपति पौडेलले अबको प्राथमिकता पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने बताए ।

भविष्यमा यस्ता विपत्तिको जोखिम न्यूनीकरण हुने गरी देशको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

प्रतिक्रिया