काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी एकताको मोडालिटी टुंग्याउने उद्देश्यले गठन गरिएको अनौपचारिक कार्यदलले उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायलाई रास्वपाको सल्लाहकार परिषद् अध्यक्ष बनाउने विषयमा सहमति जुटाएको छ।
हिजो बसेको कार्यदलको बैठकले उक्त सहमति जुटाएको हो। रास्वपा, उज्यालो नेपाल र बालेन पक्षका नेताहरू सम्मिलित यस अनौपचारिक कार्यदललाई सम्भवतः आज बस्ने बैठकले औपचारिकता दिने तयारी गरिएको छ। हिजोको बैठकमा पार्टी एकताको खाका, संरचना र भावी कार्यदिशाबारे विस्तृत छलफल भएको नेताहरूले बताएका छन्।
छलफलका क्रममा उज्यालो नेपालका अध्यक्ष उपाध्यायलाई रास्वपा सल्लाहकार परिषद्मा समेट्ने र परिषद्को नेतृत्व जिम्मेवारी दिने विषयमा समझदारी बनेको एक नेताले जानकारी दिए। उक्त प्रस्ताव अब रास्वपाको केन्द्रीय समितिमा पेस गरिनेछ। स्मरणीय छ, रास्वपाले गत असोजमा बसेको सचिवालय बैठकमार्फत सल्लाहकार परिषद् गठन प्रक्रिया सुरु गर्दै जगन्नाथ पौडेल, नमस्तेलाल भूमि, शोभा जोशी विजुक्छे, बुद्धिलाल विश्वकर्मा र जयकिशोर लाललाई सदस्यका रूपमा मनोनयन गरेको थियो, तर परिषद्को अध्यक्ष भने अहिलेसम्म तोकिएको थिएन।