१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पुनः सुरु भएको छ। दिउँसो १ बजेका लागि तोकिएको बैठक केहीबेर अघिमात्रै ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा सुरु भएको हो।
गत असोज २८ गतेबाट सुरु भएको बैठक यसअघि तिहार र छठ पर्वका कारण स्थगित भएको थियो। बैठकले भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्था र त्यसमा कांग्रेसको भूमिकाबारे समीक्षा गर्दै आएको छ।
आजको बैठक भने पार्टीको १५औँ महाधिवेशन तयारीमा केन्द्रित रहेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरभित्र सकिँदैछ। यसअघि नै पार्टीभित्र नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन आह्वान गर्ने भन्ने विषयमा तीव्र बहस चलिरहेको छ।
महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशनको मागसहित केही नेताहरूले प्रतिनिधिहरूबाट हस्ताक्षर संकलन अभियान सञ्चालन गरेका थिए। सो क्रममा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको जनाइएको छ।
सभापति देउवाले स्वास्थ्य कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्, र यही नेतृत्वमा हालका बैठकहरू सञ्चालन भइरहेका छन्।
गत कात्तिक १ गते बसेको अन्तिम बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको बैठक बोलाएको थियो।