काठमाडौँ l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको बन्दसूचीमा नाम परेका केही उम्मेदवारलाई आफूले ‘विथ ड्र’ गर्न भनेको बताएका छन्। बन्दसूचीको विषयलाई लिएर विवाद उब्जिएको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। रास्वपाले प्राइमरी इलेक्सनमार्फत समानुपातिक उम्मेदवार छानेको भए पनि अन्तिम बन्दसूचीमा त्यसको पूर्ण कार्यान्वयन नभएपछि विवाद चर्किएको छ, जसप्रति पार्टीकै जिम्मेवार नेताहरूले समेत असन्तुष्टि व्यक्त गरिरहेका छन्। यसबारे लामिछानेले प्राइमरी इलेक्सन नै सबैथोक नभएको स्पष्ट पार्दै भने, ‘हामीले बनाएको विधिअनुसार भोटिङको मतभार ५० प्रतिशत मात्रै हुन्छ । बाँकी ५० प्रतिशत मतभार आकांक्षीका विभिन्न पक्षहरूलाई मूल्यांकन गरेर दिइन्छ । त्यसैले प्राइमरी जित्दैमा बन्दसूचीमा आइन्छ भन्ने होइन ।’
यद्यपि, बन्दसूची तयार पार्ने क्रममा केही कमीकमजोरी भएको स्वीकार गर्दै उनले त्यसलाई सच्याइने बताएका छन्। उनले भने, ‘हामीसँग संशोधन गर्ने समय छ । बाहिर जे कुराहरू आएका छन्, त्योभन्दा धेरै समस्या हामी आफैँले देखेका छौँ । यसलाई समयमा संशोधन गरिन्छ ।’ साथै, पार्टीका केही साथीहरूलाई बन्दसूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचनमा जान आफूले आग्रह गरेको दाबी गर्दै लामिछानेले भने, ‘मैले तपाईँहरू विथ ड्र गरेर प्रत्यक्षतिर लड्न जानुपर्छ है भनेको छु । आवश्यक पर्यो भने निर्देशन नै दिन्छु, त्यसमा कुनै चिन्ता गर्नु पर्दैन ।’ उनले थपे, ‘हामी तीनै पक्ष अब एउटै पार्टी भइसकेका छौँ । हामीले कसैलाई पनि विधिभन्दा बाहिर गएर बोक्नुपर्ने बाध्यता छैन ।’