रुकुमपूर्वमा खोलाको बाढीले बगाउँदा दुई जना बेपत्ता

nepaltext

रुकुमपूर्व । पुथा उत्तरगंगा गाउँपालिका–६ स्थित साङ्खोला खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मयाङ गाउँका ७० वर्षीय तीर्थराम शाही र ४९ वर्षीय बुद्धिराज सेन रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू खरिढुङ्गाबाट घर फर्किने क्रममा साङ्खोला खोलामाथि रहेको काठको पुल तर्दै गर्दा चिप्लिएर खोलामा खसेका थिए । लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेको समयमा उनीहरूलाई बाढीले बगाएको हो ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख डीएसपी खुमानन्द पाण्डेले जानकारी दिए ।

उनका अनुसार खोलाको भौगोलिक अवस्था निकै ठाडो हुनुका साथै पानीको बहाव तीव्र रहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको छ । पानीको सतह केही घटे पनि खोलामा बहाव अझै तीव्र रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया