अध्यक्ष–उपाध्यक्ष विवाद चर्किँदा पालिकाको कामकाज प्रभावित

nepaltext.com

१७ पुस, विराटनगर l मोरङको ग्रामथान गाउँपालिकाको कार्यालयभित्र आज पनि तनावपूर्ण अवस्था देखिएको छ। उपाध्यक्ष गुणवतीदेवि थारुले लेखा शाखामा लगाएको ताला खोल्न माग गर्दै अध्यक्ष नोमनारायण माझीका समर्थकहरू कार्यालय पुगेपछि अवस्था तनावग्रस्त बनेको हो। प्रदर्शनमा सहभागीहरूले आफू अध्यक्षका समर्थक नभई ग्रामथानका स्थानीय भएको दाबी गरेका छन्। लेखा शाखाको ढोकाअगाडि उपाध्यक्ष थारुसहित नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरू बसेका थिए भने ताला खोल्न माग गर्दै प्लेकार्डसहित पुगेका अध्यक्ष माझी पक्षधरहरूले पालिकाको कामकाज सुचारु गराउने उद्देश्यसहित लेखा शाखामा लगाइएको ताला फुटाएका छन्।

यस क्रममा उपाध्यक्ष र अध्यक्ष पक्षधरबीच हात हालाहालको स्थिति समेत बनेको थियो, तर सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गरी दुवै पक्षलाई रोकेका थिए। अध्यक्ष माझीले मनोमानी गरेको आरोप लगाउँदै उपाध्यक्ष थारुले लेखा शाखामा ताला लगाएकी थिइन्। उनले गाउँसभा एकलौटी रूपमा सम्पन्न गरिएको र पालिकाको बजेट किताबमा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको मन्तव्य मात्रै समावेश गरिएको, आफूले मन्तव्य राख्न नपाएको गुनासो गर्दै आएकी छन्।

गत वर्ष मंसिरमा सम्पन्न उपनिर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष माझी पदमा आएयता एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग उनको विवाद निरन्तर चल्दै आएको छ। ग्रामथान गाउँपालिकामा एमालेको बहुमत रहेको छ, र पालिकामा काम गर्न खोज्दा उपाध्यक्षले बहुमत देखाउँदै अवरोध सिर्जना गरेको अध्यक्ष माझीको दाबी रहँदै आएको छ। यसअघि गत पुस ९ गते पनि गाडी प्रयोगको विषयलाई लिएर अध्यक्ष र उपाध्यक्षबीच विराटनगरको मुख्य सडकमै झगडा भएको थियो, जब अध्यक्षले प्रयोग गरेको गाडीको चाबी उपाध्यक्ष थारुले जिल्ला प्रशासन कार्यालय नजिकै सडकमा नियन्त्रणमा लिएपछि दुई पक्षबीच बाझाबाझ भएको थियो।

प्रतिक्रिया