काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा ४० अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने गरी प्रतिबद्धता प्राप्त भएको छ। साउनदेखि माघसम्मको अवधिमा ५ सय २४ परियोजनामार्फत कुल ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो।
उद्योग विभागका अनुसार यस अवधिमा परियोजनाको संख्याका आधारमा सूचना प्रविधि र पर्यटन क्षेत्र अग्रस्थानमा देखिएका छन् भने लगानी रकमका हिसाबले कृषि क्षेत्र शीर्ष स्थानमा रहेको छ। सात महिनामा कृषि क्षेत्रका १४ परियोजनामार्फत २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन समग्र प्रतिबद्धताको सबैभन्दा ठूलो हिस्सा हो। पर्यटन क्षेत्रतर्फ १ सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।
उत्पादनमूलक क्षेत्रका ३५ परियोजनामा २ अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ तथा सेवामूलक ३४ परियोजनामा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ। परियोजनाको संख्यामा भने सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। यस क्षेत्रमा २ सय ८८ परियोजनामार्फत १ अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
यस अवधिमा खनिजजन्य दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ तथा ऊर्जामूलक एक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।
विभागका अनुसार माघसम्म अटोमेटिक रुटमार्फत ३ अर्ब २५ करोड रुपैयाँ र अप्रुभल रुटमार्फत ३७ अर्ब ३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। चालू आवको यो प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे १३ अर्ब रुपैयाँले बढी हो। गत आर्थिक वर्षको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो।
सात महिनाको तथ्यांकले कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रतर्फ विदेशी लगानीकर्ताको चासो उल्लेख्य रूपमा बढेको देखाएको छ, जसले आर्थिक गतिविधिमा विविधीकरण र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।