दोलखाको रोल्वालिङ क्षेत्रमा हिमपहिरो: तीन विदेशी पर्यटकको मृत्यु, उद्धार कार्य जारी

nepaltext.com

दोलखा — दोलखाको रोल्वालिङ क्षेत्रमा आज बिहान गएको हिमपहिरोमा कम्तिमा तीन विदेशी पर्यटकको मृत्यु भएको छ भने अन्य केही घाइते र वेपत्ता भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोका अनुसार मृतकको पहिचान र वेपत्ता हुनेको संख्या अझै एकिन हुन सकेको छैन।

हिमपहिरोमा परेका घाइतेमध्ये तीन विदेशी पर्यटकको नाम सार्वजनिक गरिएको छ। उनीहरू हुन्— क्यानेडियन नागरिक मार्को दि मार्सेलो, इटालियन नागरिक पाउलो कोको र फ्रान्सेली पर्यटक कारोले फुच्स। ती पर्यटकहरूले ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनमार्फत अक्टोबर २९ मा काठमाडौँबाट रोल्वालिङ यात्रा सुरु गरेका थिए र नोभेम्बर ११ मा फर्कने योजना बनाएका थिए।

स्थानीय प्रशासनले उद्धारका लागि हेली एभेरेष्टलाई निषेधित क्षेत्रमा उडान अनुमति दिएको भए पनि प्रतिकुल मौसमका कारण अहिलेसम्म घटनास्थलमा हेलिकोप्टर पुग्न सकेको छैन। हेली रेस्क्यु सर्भिस प्रालीका शेर्पा मिङले घाइतेहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेकामा जानकारी दिएका छन्।

घटना रोल्वालिङको ‘यलुङ’ वेस क्याम्प आसपास भएको र केही पर्यटक भने हिमपहिरोबाट बचेर नजिकैको गाउँमा फर्किन सफल भएको बताइएको छ। घटनामा परेका पर्यटक विभिन्न तीन वटा ट्राभल कम्पनीमार्फत रोल्वालिङ पुगेका थिए।

प्रतिक्रिया