मुस्ताङ - भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि कोरलानाका हुँदै आयात बढ्दा मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार कार्यालयका अनुसार भदौ १० देखि २३ गतेसम्म मात्रै रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । दुई प्रमुख उत्तरी नाका बन्द भएपछि मुस्ताङको कोरलानाका वैकल्पिक व्यापारिक नाकाका रूपमा प्रयोग हुँदै आएको हो ।
भन्सार प्रमुख विदुर चुडालका अनुसार उक्त अवधिमा कोरलानाका हुँदै नेपाल भित्रिएका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास गरिएको छ ।
कोरलानाकाबाट दैनिक १५ वटासम्म विद्युतीय सवारीसाधन तथा १० वटाभन्दा बढी मालवस्तु बोकेका कन्टेनर नेपाल भित्रिने गरेका छन् ।
भन्सार प्रमुख चुडालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि भदौ १० गतेसम्म १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो । उक्त अवधिमा रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो ।
भदौ १० पछि भएको थप राजस्व सङ्कलनसँगै मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म रु एक अर्ब आठ करोड ८० लाख राजस्व सङ्कलन गरिसकेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सार कार्यालयले रु ६ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।