किम्रोङ खोलाको बहाव खुल्यो, जोखिम टरेको प्रशासनको भनाइ

nepaltext

काठमाडौँ, २४ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाव खुलेको छ ।

गए राति करिब ८ बजे पहिरो खसेपछि खोला थुनिएको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार रातभरिमा खोलाको बहाव आफैँ खुलेर अहिले साविककै अवस्थामा फर्किएको छ ।

उनका अनुसार बिहान सबेरै स्थानीयवासीसँग सम्पर्क गर्दा खोलाको बहाव सामान्य अवस्थामा आइसकेको जानकारी प्राप्त भएको थियो । खोलाको बहाव सामान्य भएसँगै हाललाई जोखिम टरेको उनले बताए ।

पहिरो खसेर खोला थुनिएको स्थानको अवस्थाबारे बुझ्न प्रहरी टोली बिहान ४ बजे नै त्यसतर्फ पठाइएको पनि बरालले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मध्यराति करिब १२ बजेदेखि पहिरोले थुनिएको स्थानको एक छेउबाट पानी बिस्तारै बग्न थालेको थियो । अहिले खोलाको बहाव पूर्ण रूपमा साविककै अवस्थामा फर्किएको उनले बताए ।

राति अचानक पहिरो खसेर खोला थुनिएपछि किम्रोङ तथा मोदीखोला तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो ।

प्रतिक्रिया