रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ ।
‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले उपलब्ध गराएका जेनेरेटरबाट विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायत क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । जेनेरेटरको सहायताले मोबाइल चार्ज गर्न, सञ्चार सम्पर्क कायम राख्न तथा आपत्कालीन सेवा सञ्चालन गर्न सहज भएको छ ।
त्यस्तै, आपत्कालीन उद्धार, राहत, पुनःस्थापना तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन कालिका र उत्तरगया गाउँपालिकाका आश्रयस्थलमा पनि जेनेरेटर हस्तान्तरण गरिएको छ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएपछि बेत्रावती नजिकैको जङ्गलमा पाल टाँगेर बसिरहेका विस्थापित परिवारलाई समेत स्थलगत रूपमै पुगेर जेनेरेटर उपलब्ध गराइएको छ ।