ग्यासको अवैध कारोबार रोक्न विभाग सक्रिय, सूचना दिन आग्रह

nepaltext

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार बढ्न थालेको भन्दै यसबारे सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागले ग्यासको कालोबजारी, अत्यधिक भण्डारण तथा बढी मूल्यमा बिक्री–वितरण भइरहेको सूचना प्राप्त भइरहेकाले यस्ता गतिविधिबारे जानकारी भए तुरुन्तै निःशुल्क टेलिफोन नम्बर ११३७ मा फोन गरेर सूचित गर्न सबैमा अनुरोध गरेको छ।

नेपाल आयल निगम ले आधा सिलिन्डर मात्र ग्यास बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा अझै ग्यासको अभाव देखिएको विभागले जनाएको छ। अनुचित व्यापारिक क्रियाकलापमा संलग्न पाइए कडा कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।

विभागका अनुसार देशभरबाट सजिलै सम्पर्क गर्न मिल्ने गरी उक्त निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याइएको हो। पछिल्ला दिनमा विभागले विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ। अनुगमनका क्रममा कैफियत भेटिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिने जनाएको छ।

ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्ति प्रणालीलाई सहज बनाउने, कृत्रिम अभाव सिर्जना गर्ने र अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले विभाग सक्रिय रहेको जनाइएको छ। साथै, सबै ग्यास उद्योग र वितरकलाई कानुनअनुसार व्यवसाय सञ्चालन गर्न र गैरकानुनी गतिविधि नगर्न पनि सचेत गराइएको छ।

यसैबीच सोमबार मात्रै विभागले ग्यास लुकाएर राखेको पाइएपछि श्रीराम ग्यास उद्योग लाई तीन लाख रुपैयाँ जरिवाना गरेको थियो। उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा १४.२ किलोग्राम तौलका ६ हजार ३७७ ग्यास सिलिन्डर भण्डारण गरेर राखिएको अवस्थामा फेला परेको विभागले जनाएको छ।

प्रतिक्रिया