सैनिक सेवा (छैटौं संशोधन) नियमावली २०८३ राजपत्रमा प्रकाशित

nepaltext

काठमाडौँ। नेपाल सरकारले सैनिक सेवा नियमावली, २०६९ मा संशोधन गर्दै सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३ जारी गरेको छ। रक्षा मन्त्रालयको सूचनाअनुसार उक्त नियमावली जेठ २१ गते नेपाल राजपत्रमा प्रकाशित भएको हो।

संशोधित नियमावलीमा सैनिक तथा फलोअर्स पदको भर्ती प्रक्रियासम्बन्धी व्यवस्था परिमार्जन गरिएको छ। भर्ती छनोट केन्द्रबाट माग पदसंख्याभन्दा बढी सङ्ख्यामा उत्तीर्ण भएका उम्मेदवारको योग्यताक्रमअनुसार सूची तयार गर्ने तथा सोही आधारमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ। सफल उम्मेदवारसँगै वैकल्पिक उम्मेदवारको सूची प्रकाशनसम्बन्धी व्यवस्था पनि थप गरिएको छ।

नियमावलीले पदपूर्ति समितिले योग्यताक्रमका आधारमा उम्मेदवार सिफारिस गर्ने, सिफारिस भएका उम्मेदवार तालिममा सहभागी हुन नसकेमा वैकल्पिक उम्मेदवारबाट पदपूर्ति गर्ने तथा आवश्यक अवस्थामा विभिन्न भर्ती छनोट केन्द्रबाट एकीकृत योग्यताक्रम सूची तयार गर्न सक्ने व्यवस्था गरेको छ।

संशोधनमार्फत केही पदका लागि बढुवा समिति तथा पदोन्नतिसम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। विदेशी सैनिक शिक्षालयबाट अधिकृत क्याडेट आधार तालिम पूरा गरेका अधिकृतको ज्येष्ठता कायम गर्ने आधारसम्बन्धी व्यवस्था समेत संशोधन गरिएको छ।

अध्ययन बिदा तथा तालिमसम्बन्धी व्यवस्थामा पनि परिमार्जन गरिएको छ। अध्ययन वा तालिम पूरा गरी फर्किएका सैनिक व्यक्तिले तोकिएको सेवा अवधि पूरा नगरेमा वा स्वीकृत विषयभन्दा बाहिर अध्ययन गरेमा त्यस्तो अध्ययन वा तालिममा भएको खर्च असुल गरिने व्यवस्था गरिएको छ। गम्भीर बिरामी वा शारीरिक तथा मानसिक रूपमा सेवा गर्न असमर्थ भएको अवस्थामा भने मेडिकल बोर्डको सिफारिसका आधारमा छुट दिन सकिने व्यवस्था गरिएको छ।

संशोधित नियमावलीमा प्रयोगशालामा जोखिमयुक्त कार्य गर्ने सैनिक व्यक्तिलाई नेपाल सरकारले तोकेबमोजिम जोखिम भत्ता उपलब्ध गराउने नयाँ व्यवस्था थप गरिएको छ। नियमावलीले प्रयोगशालाको परिभाषासमेत स्पष्ट गरेको छ।

नियमावलीले जङ्गी कारबाही, सेना परिचालन, विश्व शान्ति स्थापनाका लागि शान्ति सैनिकको रूपमा तैनाथी, विपद् व्यवस्थापन, विकास निर्माण तथा प्रकृति संरक्षणसम्बन्धी कार्यमा संलग्न सैनिक व्यक्तिका हकमा लागू हुने केही सेवा सुविधासम्बन्धी व्यवस्थामा समेत संशोधन गरेको छ।

यस्तै, सन्तति सुविधा प्राप्त गर्ने उमेरसम्बन्धी प्रावधान, उपचार खर्च, विशेष पोसाक तथा अन्य सामग्रीको व्यवस्थासम्बन्धी केही नियम तथा अनुसूचीहरूमा पनि संशोधन गरिएको राजपत्रमा उल्लेख छ।

प्रतिक्रिया