रास्वपा झापा सभापतिमा ओमनाथ भण्डारी निर्वाचित

nepaltext

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा निर्वाचित भएका छन् ।

गए राति सार्वजनिक मतपरिणामअनुसार भण्डारीले ३४१ मतका साथ आफ्ना दुई जना प्रतिस्पर्धीलाई पराजित गरेको हो । उनका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनाली २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका भएका छन् । उनले २१० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी शान्ता तामाङले १९८ मत, लीला खड्काले १११ मत र देव सङ्ग्रौलाले ९३ मत प्राप्त गरे ।

सचिव पदमा विरोध सुवेदी निर्वाचित भएका छन् । सुवेदीले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत गरे । सहसचिव पदमा भीमबहादुर कुँवर ३५२ मतसहित विजयी बने । उनका प्रतिस्पर्धी राजेन्द्र खनालले १९३ मत र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गरे ।

जातीय ‘क्लस्टर’तर्फको सदस्य पद राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित भएका छन् । उक्त पदका प्रतिस्पर्धी सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गरे ।

खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने २२९ मत, शान्तिमाया न्यौपाने २१४ मत र मुना सापकोटा ११९ मतसहित निर्वाचित भएका छन् ।

अधिवेशनले क्षेत्रीय नेतृत्व पनि चयन गरेको छ । क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम, क्षेत्र नम्बर २ मा गोपाल कट्वाल, क्षेत्र नम्बर ३ मा कमल बानियाँ, क्षेत्र नम्बर ४ मा लीलामाया बस्नेत तथा क्षेत्र नम्बर ५ मा चुडामणि पाठक निर्वाचित भए। 

प्रतिक्रिया