काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको छ। सभाले २०८२ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित सबै वित्तीय प्रतिवेदनहरू छलफल गरी स्वीकृत गरेको छ। साथै सञ्चालक समितिको प्रस्तावअनुसार १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन भएको छ, जसअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय पारित भएको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/०८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसूचकहरूमा उल्लेखनीय सकारात्मक सुधार देखिएको छ। आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा ९.३९ प्रतिशत रहेको आधार दर २०८१/०८२ को अन्त्यमा घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्यता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ कायम भएको छ।
साधारण सभाले बैंकको नियमावलीअनुसार संस्थापक शेयरधनी समूह (क) बाट ३ जना र सर्वसाधारण शेयरधनी समूह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पनि पारित गरेको छ। यसअनुसार संस्थापक समूहबाट क्रमशः राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ प्रा.लि.को तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको पहिलो बैठकबाट राजेश उपाध्याय पुनः सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन्।
सभामा अध्यक्ष उपाध्यायले शेयरधनीहरूबाट प्राप्त सुझाव तथा सल्लाहलाई आत्मसात् गर्दै ग्राहक सन्तुष्टि र लगानीकर्तालाई उचित प्रतिफल दिन बैंकका गतिविधिहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ सक्षम र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।