पाकिस्तानी प्रधानमन्त्री नेपाली दूतावास पुगेर गरे शोक पुस्तिकामा हस्ताक्षर

nepaltext

काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सरिफले बिहीबार इस्लामावादस्थित नेपाली राजदूतावास पुगेर नेपालकी राजदूत रीता धितालसँग भेट गर्दै प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति औपचारिक रूपमा समवेदना व्यक्त गरेका हुन् ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासका अनुसार भेटका क्रममा सरिफले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरे ।

सरिफले नेपाली राजदूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल र नेपाली जनताप्रति समवेदना सन्देशसमेत लेखेका छन् ।

नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय समुदायबाट नेपालप्रति सहानुभूति, समवेदना र राहत सहयोगको प्रतिबद्धता व्यक्त हुने क्रम जारी छ ।

प्रतिक्रिया