ऐतिहासिक बूढो पोखरीले पर्यटकको आकर्षण बढाएको रत्नेचौर

nepaltext

म्याग्दी – बेनी नगरपालिका–१ अन्तर्गत रत्नेचौरमा अवस्थित बूढो पोखरी पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

विसं १८६६ मा निर्माण गरिएको यो मानव निर्मित पोखरीलाई हाल पुनःनिर्माण र सरसफाइ गरी सुन्दर बनाइएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो।

रत्नेचौर, कृषि, धार्मिक र पर्यापर्यटनको त्रिधामको रूपमा चिनिन्छ। बेनी–बागलुङ सडक खण्डको पश्चिम–उत्तर क्षेत्रमा पर्ने बूढो पोखरी धौलागिरि क्षेत्रकै ठूलो मानव निर्मित पोखरी हो। यहाँबाट संसारकै सातौँ अग्लो धौलागिरि (८,१६७ मिटर) हिमालको प्रतिविम्ब हेर्न सकिन्छ भने पोखरीमा पौडिरहेको जलहाँसले थप आकर्षण थपेको छ।

स्थानीय भानु माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा रत्नेचौरको विकास र प्रचारप्रसारमा लागि परेका युवा भरत खत्रीका अनुसार, “ऐतिहासिक बूढो पोखरीले रत्नेचौरको प्राकृतिक सौन्दर्यलाई उजागर गरेको छ र पर्यटकको ध्यान आकर्षित गर्न सफल भएको छ। उत्तरतर्फ टल्किने हिमाल, समथर फाँटमा खेतीपाती, पक्की सडक, शालग्राम सङ्ग्रहालय, पञ्चकोट धाम, कालीगण्डकी नदी र आसपासका दर्जनौं गाउँको दृश्यावलोकन यहाँबाट सम्भव छ।”

सामाजिक गतिविधि र पर्यटनमा पनि रत्नेचौरले पछिल्लो समय नाम कमाउन थालेको छ। चलचित्र छायाङ्कन तथा राजनीतिक दलका नेता समेत गाउँ भ्रमणमा आउने गरेका छन्। स्थानीय विक्रम बोगटी भन्छन्, “तोरीबारी, सडक सुविधा, बूढो पोखरी र म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुलले गाउँको आकर्षण थप बढाएको छ। पोखरीमा पौडिरहेको जलहाँसको दृश्य अत्यन्त मनमोहक देखिन्छ।”

इतिहास अनुसार, राजा गीर्वाणयुद्धका मिरसुब्बा वसन्त बोगटीले तत्कालीन समयमा पानीको अभावका कारण विस्थापन हुने स्थिति आउन नदिन ढोडेनीबाट पानी ल्याएर पोखरी निर्माण गरेका थिए। पोखरी निर्माणपछि रत्नेचौरमा खेतीपाती सुरु भएको थियो। हाल पोखरी आसपास सात रोपनी क्षेत्रफलमा बगैँचा र पूर्वाधार विकास गरिएको छ।

बूढो पोखरीले प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वका कारण रत्नेचौरलाई बेनी क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरेको छ।

प्रतिक्रिया