मोदीलाई कीर्तिमानी कार्यकालका लागि रविको बधाई, नेपाल-भारत सहकार्य विस्तारमा जोड

nepaltext

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऐतिहासिक उपलब्धिका लागि बधाई दिएका छन्।

भारतमा निर्वाचित प्रधानमन्त्रीका रूपमा सबैभन्दा लामो समय पदमा रहने कीर्तिमान स्थापित गरेपछि उनले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका हुन्।

मोदीले हालसम्म कुनै पनि निर्वाचित भारतीय प्रधानमन्त्रीले पूरा नगरेको कार्यकाल अवधि पार गर्दै नयाँ रेकर्ड कायम गरेका छन्। सन् २०१४ मे २६ मा पहिलो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनले बुधबार ४ हजार ३ सय ९९ दिनको कार्यकाल पूरा गरेका छन्। यसअघि यो उपलब्धि भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा रहेको थियो, जसले ४ हजार ३ सय ९८ दिन नेतृत्व गरेका थिए।

लामिछानेले आफ्नो सन्देशमा केही समयअघि नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भएको भेटलाई स्मरण गर्दै त्यतिबेला भएका संवादहरू सकारात्मक र अर्थपूर्ण रहेको उल्लेख गरेका छन्। उक्त भेटमा भएका विचार आदान-प्रदानले नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउन आधार प्रदान गरेको उनको भनाइ छ।

सभापति लामिछानेले नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने दिशामा आफ्नो दल प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। उनले आर्थिक सहकार्य र दुवै देशका साझा विकास प्राथमिकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले समृद्ध नेपाल निर्माणको दृष्टिकोणबाट नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने प्रयासमा रास्वपा निरन्तर सक्रिय रहने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया