पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी : अझै समय छ सुध्रिनुस्

nepaltext

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गर्न खोजेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको इतिहास बदल्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई चेतावनी दिए।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई अपमान गर्नु भनेको तीन करोड नेपाली जनताको भावनाको अपमान गर्नु भएको बताए।

‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ। त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने।

उनले पुराना दलका नेताहरूलाई आफ्नो सोच परिवर्तन गर्न आग्रह गर्दै भने, ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ। त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन।’

गुरुङले आफूहरू जनताको मतबाट निर्वाचित भएर जिम्मेवारीमा आएको उल्लेख गर्दै सत्ता र शक्तिको लोभ नरहेको दाबी गरे। उनले आफूले जिम्मेवारी निर्वाह गर्दा कुनै कमजोरी नहोस् भन्नेमा निरन्तर सचेत रहेको बताए।

‘भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ छ, न शक्तिको घमण्ड नै। अहिले पनि छैन,’ उनले भने, ‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा। म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु।’

गृहमन्त्री गुरुङले सरकारका सबै मन्त्रीहरू जनताको अपेक्षाअनुसार काम गरिरहेको दाबी गरे। सुशासनको पक्षमा आवाज उठाउने युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले जेनजी आन्दोलनका माग सम्बोधन गर्ने गरी काम गरिरहेको बताए।

सुशासन कायम गर्ने जिम्मेवारी दिएको भन्दै उनले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहप्रति आभार व्यक्त गरे। गुरुङले सभापति लामिछानेसँग आफूले आवश्यक विषयमा निरन्तर सल्लाह लिइरहेको समेत बताए।

प्रतिक्रिया